टोकियो । आइतबार सम्पन्न जापानको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी))ले ऐतिहासिक विजय हासिल गरेको छ।
यसअघि १९८ सिटमा सीमित एलडिपीले यो निर्वाचनमा एक्लैले ३१६ सिट जित्दै दुई तिहाई बहुमत पार गरेको हो। ४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाई बहुमतका लागि ३१० सिट आवश्यक पर्छ।
एलडिपीसँग गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। यससँगै प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ।
यो परिणाम १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित हो। यसअघि सन् १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा एलडिपीले जितेको ३०० सिटको रेकर्डलाई ताकाइचीले तोडेकी हुन्।
उता विपक्षी गठबन्धनको सिट संख्यामा भने ठूलो गिरावट आएको छ। मुख्य विपक्षी सेन्टर रिफर्म कोलिसनले ४९ सिटमा सीमित हुँदै अघिल्लो निर्वाचनमा पाएको १७२ सिट गुमाएको छ। अन्य दलहरूले जम्मा ११३ सिट जितेका छन्।
प्रधानमन्त्री ताकाइचीले जनवरी २३ मा तल्लो सदन विघटन गर्दै १६ दिनभित्रै निर्वाचन गराउने घोषणा गरेकी थिइन्। उनका प्रमुख चुनावी एजेण्डामा संविधान संशोधन, सैन्य क्षमता सुदृढीकरण तथा खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत उपभोक्ता कर हटाउने विषय प्रमुख रहेका छन्।
एलडिपीको यो जितसँगै जापानको राजनीतिक शक्ति सन्तुलनमा निर्णायक परिवर्तन आएको विश्लेषकहरूले बताएका छन्।
