विराटनगर । देशको सीमा सुरक्षा मजबुत बनाउने जिम्मेवारी बोकेर ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेले अन्ततः बर्दीमै ज्यान गुमाए। शुक्रबार नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी भइरहेकै बेला उनी अचानक बेहोस भएर ढले र केही घण्टापछि अस्पतालमा उनको निधन भयो।
शुक्रबार दिउँसो मोरङको बिराटचोकमा डिआईजी तहको नेपाल–भारत समकक्ष सीमा सुरक्षा बैठक चलिरहेको थियो। बैठकमा मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी घिमिरे पनि सहभागी थिए। बैठक सामान्य रूपमै अगाडि बढिरहेको बेला अचानक उनी बेहोस भएर ढले।
तत्कालै उनलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइयो। अस्पताल स्रोतका अनुसार ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको थियो। स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार थालिएको थियो।
तर चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन। अन्ततः शुक्रबार राति ८ बजेर ५२ मिनेटमा चिकित्सकहरूले एसपी घिमिरेको निधन भएको पुष्टि गरे।
घटनाको पुष्टि गर्दै सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले बैठककै क्रममा एसपी घिमिरे अचानक ढलेको जानकारी दिए। ‘कर्तव्य निर्वाहकै क्रममा उहाँलाई अचानक स्वास्थ्य समस्या देखियो,’ डीआईजी न्यौपानेले भने, ‘तत्काल उपचारको प्रयास गरियो, तर दुर्भाग्यवश उहाँलाई बचाउन सकिएन।’
अस्पताल स्रोतकाअनुसार एसपी घिमिरे उच्च रक्तचापको समस्याबाट पीडित थिए। अत्यधिक तनाव र जिम्मेवारीका बीच अचानक स्वास्थ्य बिग्रँदा उनको अवस्था जटिल बनेको चिकित्सकको प्रारम्भिक अनुमान छ।
एसपी घिमिरे केही दिनअघि मात्रै नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका थिए। उनी शनिबार अर्थात् आजै नयाँ कार्यक्षेत्रमा हाजिर हुने तयारीमा थिए। मोरङबाट बिदा भएर नयाँ जिम्मेवारी सम्हाल्ने पूर्वसन्ध्यामा भएको यो घटनाले सिंगो सशस्त्र प्रहरी संगठनलाई स्तब्ध बनाएको छ।
सरुवा भइसकेपछि मोरङका लागि अन्तिम दिनको ड्युटी गरिरहेका एसपी घिमिरेको शुक्रबारको ड्युटी जीवनकै अन्तिम ड्युटी बन्न पुग्यो।
संगठनभित्र एसपी घिमिरे एक अनुभवी, शालिन र कर्तव्यनिष्ठ अधिकृतका रूपमा चिनिन्थे। शान्त स्वभाव, जिम्मेवारीप्रतिको निष्ठा र मातहतप्रति सहकार्यपूर्ण व्यवहारका कारण उनी सहकर्मीहरूबीच सम्मानित थिए। संगठनका लागि इमानदारीपूर्वक काम गर्दै ड्युटीकै बीच बर्दीमै ज्यान गुमाउनु उनको कर्तव्यनिष्ठ जीवनको मार्मिक अन्त्य बनेको छ।
हाल उनको शव विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। एसपी घिमिरेको असामयिक निधनले सशस्त्र प्रहरी बल मात्र होइन, सुरक्षा निकाय र उनलाई नजिकबाट चिन्ने सबैलाई गहिरो शोकमा डुबाएको छ।
