काठमाडौं । राजधानी काठमाडौंमा आपराधिक गतिविधिमा संलग्न गुण्डागर्दी समूहविरुद्ध प्रहरीले कडा अपरेशन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले राजधानीमा अशान्ति फैलाउने कुनै पनि समूहलाई छुट नदिने स्पष्ट चेतावनी दिएका छन्।
एसएसपी थापाकाअनुसार गुण्डागर्दी, जबर्जस्ती, धम्की, अवाञ्छित गतिविधि तथा संगठित अपराधमा संलग्न व्यक्तिहरूको विस्तृत नामावली तयार भइसकेको छ। ती व्यक्तिहरूलाई लक्षित गर्दै खोजी–खोजी कारबाही भइरहेको र यो अपरेशन निरन्तर चलिरहने उनले बताए।
‘काठमाडौंमा गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,’ एसएसपी थापाले स्कुपखबरसँगको कुराकानीमा भने, ‘शान्ति सुरक्षामा खलल पुर्याउने जो–कोहीलाई कानुनको दायरामा ल्याइन्छ। अपरेशन रोकिँदैन।’
पछिल्लो समय राजधानीका विभिन्न क्षेत्रमा आपराधिक गतिविधि बढ्ने संकेत देखिएपछि प्रहरीले निगरानी कडा बनाएको छ। सादा पोसाक र बर्दीधारी प्रहरी परिचालन गर्दै संदिग्ध गतिविधिमाथि निगरानी बढाइएको प्रहरीको भनाइ छ।
प्रहरी नेतृत्वले नागरिकलाई पनि अपराधविरुद्ध सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ। राजधानीको शान्ति, सुरक्षा र सुशासन कायम गर्न कुनै पनि दबाब वा प्रभाव स्वीकार नगर्ने एसएसपी थापाको दृढ अडान रहेको छ।
