कोहलपुर । नेपाल प्रहरीद्वारा प्रदान गरिँदै आएको सेवा नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले प्रहरी सेवालाई केवल जिम्मेवारी मात्र नभई अनुशासन, निष्ठा र सेवाभावले निर्देशित जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा आयोजना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरीको भूमिका जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताए। उनले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित, व्यावसायिक र उच्च नैतिक मापदण्डमा रहेर कार्य सम्पादन गर्न सम्पूर्ण प्रहरी जनशक्तिलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी सेवा केवल एउटा जागिर होइन, यो एउटा जीवनशैली हो। सत्य, निष्ठा, सेवाभाव र सुरक्षाको प्रत्याभूत गर्न निरन्तर जोस, जाँगर र प्रतिबद्धता आवश्यक पर्छ। नागरिकको सेवा र सुरक्षाका लागि राज्यका प्रतिनिधिका रूपमा गाउँगाउँसम्म प्रभावकारी रूपमा पुग्न प्रहरी सधैं सक्रिय हुनुपर्छ।’
आईजीपी कार्कीले विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाका घटनालाई संवेदनशील विषयका रूपमा लिन निर्देशन दिँदै पीडितमैत्री सेवा प्रवाहमा जोड दिए। उनले हिंसामा परेका व्यक्तिलाई सेवा प्रदान गर्दा गोपनीयता, सम्मान र विश्वास कायम हुने गरी संयन्त्र निर्माण गरिने विश्वास व्यक्त गरे।
उनकाअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई केवल उजुरी दर्ताको थलो मात्र नभई पीडितको मनोवैज्ञानिक, सामाजिक र कानुनी संरक्षणको आधार केन्द्रका रूपमा विकास गरिनेछ। यसका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने उनले बताए।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूले नवनिर्मित भवन सञ्चालनमा आएपछि हिंसामा परेका महिला, बालबालिका र ज्येष्ठ नागरिकले सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा पाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यस्तो संरचनाले प्रहरी–नागरिक सम्बन्ध थप मजबुत बनाउनेसमेत उल्लेख गरे।
नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा सेवा केन्द्रहरूको विस्तार, प्रविधिको प्रयोग तथा जनमैत्री प्रहरी अवधारणालाई अघि बढाउँदै आएको छ। आईजीपी कार्कीको निर्देशनसँगै आगामी दिनमा प्रहरी सेवाको गुणस्तर अझ उकासिने अपेक्षा गरिएको छ।
