काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले अवैध गतिविधिविरुद्ध कडा कदम चाल्न थालेका छन्। उनको नेतृत्वमा सुरक्षा निगरानी कडा बनेसँगै विमानस्थलबाट अवैध सुन ओसारपसार गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन्।
विमानस्थल सुरक्षा कार्यालयले पछिल्लो २४ घण्टाभित्र छुट्टाछुट्टै दुई घटनामा अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारीलाई पक्राउ गरेको छ।
एसएसपी रजौरेकाअनुसार बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई शंका लागेपछि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक चेकजाँचमा असामान्य व्यवहार देखिएपछि थप परीक्षण गरिएको थियो।
चेकजाँचकै क्रममा उनले मलद्वारभित्र सुन लुकाएको आशंका भएपछि शौचालयमा शौच गर्न लगाइएको र त्यस क्रममा करिब १०० ग्राम तौलको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद गरिएको विमानस्थल सुरक्षाले जनाएको छ। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोजेको पुष्टि भएपछि उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यस्तै, अर्को घटनामा विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रा.लि.मा कार्यरत ४० वर्षीय सरसफाइ कर्मचारी डिक बहादुर राउत पनि पक्राउ परेका छन्।
मंगलबार बिहान विमानस्थलभित्रको डस्टबिनबाट फोहोर संकलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा गरिएको स्क्रिनिङका क्रममा उनको फोहोरको पोका भित्र लुकाइएको ४.४ ग्राम तौलका सुनका सिक्रीका टुक्रा फेला परेको थियो। त्यसपछि राउतलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एसएसपी रजौरेले विमानस्थललाई अपराधमुक्त र सुरक्षित बनाउने अभियान निरन्तर जारी रहने बताउँदै अवैध कारोबारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।
