काठमाडौं । उपत्यकामा कार्यरत ट्राफिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडकमा खटिने प्रहरी ‘रोड एम्बास्डर’ रहेको बताएका छन् ।
‘दुर्घटना न्यूनीकरण दायित्व ट्राफिक प्रहरीको हो । दुर्घटनाको मुख्य कारण मानवीय हो । सबैलाई सुसूचित गर्ने काम ट्राफिक प्रहरीको हो । तपाईहरू सडकको एम्बास्डर हो । स्मार्ट बोल्ने । म्यासेज डेलिभर गर्ने । सडकको राजदूत हो,’ उपत्यका ट्राफिक प्रमुख अधिकारीले भने ।
प्रमुख अधिकारीले ट्राफिक प्रहरी सडकको शिक्षक र न्यायाधीश पनि रहेको बताए । ‘लेन, लाइट, ओभर पास के हो भनेर सुसूचित गर्ने सडक शिक्षक हो । पब्लिक पुलिस पार्टनरसिप हुनुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरी सडक न्यायाधीश हो । कुशासन गर्नेलाई प्रमाण हेरेर कारबाही गर्ने हो ।’
जनतालाई दुःख होइन सेवक भएर काम गर्न उनले निर्देशन दिए । ‘नागरिकलाई विश्वास बढाउने र सेवक भएर काम गर्ने हो । सडकमा बेथिति गर्नेलाई कानुन अनुसार कारबाही गर्नुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले आफ्नो भाषा र आचरण राम्रो बनाउनुपर्छ ।’
