काठमाडौं । युरोपको प्रतिष्ठित इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली गीत प्रयोग गर्दै नेपाली भाषामै क्याप्सन राखेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
इन्टर मिलानको अफिसियल फेसबुक पेज स्क्रोल गर्ने जो–कोही नेपालीका लागि यो दृश्य भावनात्मक र गर्विलो बनेको छ। विश्व चर्चित क्लबले पृष्ठभूमिमा नेपाली गीत बजाउँदै नेपाली भाषामै क्याप्सन लेखेको भिडियो सार्वजनिक गरेको हो। झन् रोचक संयोग के छ भने, उक्त गीत नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले रचना गरेको हो।
इन्टर मिलानले प्रयोग गरेको गीत हो- ‘आँखा झिमझिम भो…’। गज्जब टिभी युट्युब च्यानलमार्फत करिब सात महिनाअघि सार्वजनिक भएको यो गीतमा सदीक्षा कट्टेल र समीर खरेलको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीत छ। गीतको म्युजिक भिडियोमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन्।
यही गीतको एक पंक्ति पृष्ठभूमिमा बजाउँदै इन्टर मिलानको आधिकारिक पेजमा लेखिएको छ- ‘सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन।’
साथै क्याप्सनमा थपिएको छ- ‘नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस्।’
नेपाली गीत राखेर बनाइएको उक्त भिडियो भने करिब तीन दशकअघिको स्मरणीय क्षण हो। सन् १९९७–९८ को सिजनमा इन्टर मिलानले युइएफए कप जित्दाको दृश्य समेटिएको उक्त भिडियोमा ब्राजिलका महान फुटबलर रोनाल्डो (द फेनोमेनन) इन्टरको जर्सीमा देखिन्छन्।
नेपाली गीतको पृष्ठभूमिमा विश्वप्रसिद्ध क्लबको भिडियो आएपछि नेपाली फुटबलप्रेमी तथा शुभेच्छुकहरूले उत्साहजनक प्रतिक्रिया जनाइरहेका छन्। धेरैले इन्टर मिलानप्रति आभार व्यक्त गर्दै लेखेका छन्- ‘नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद।’
कतिपयले यसलाई रमाइलो संयोगका रूपमा लिँदै ठट्यौली टिप्पणी पनि गरेका छन्। एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘इन्टर मिलानको एडमिन नेपाली नै हो कि क्या हो!’
धेरैले भने यसलाई सुखद् आश्चर्यका रूपमा लिँदै लेखेका छन्- ‘फेक होला भन्ने लागेको थियो, तर आइडी हेर्दा त रियल नै रहेछ।’
विश्व फुटबलको ठूलो मञ्चमा नेपाली भाषा र नेपाली सिर्जना यसरी प्रस्तुत हुनु नेपाली कला-सांस्कृतिक पहिचानका लागि ऐतिहासिक क्षण बनेको छ।
