संखुवासभा यो नामसँगै सम्झिन्छौँ- हिमाल, जङ्गल, नदी, जडिबुटी, श्रम र संघर्ष। यही माटोमा जन्मिएका एक छोरा आज फेरि यही माटोको भविष्य बदल्ने सपना बोकेर जनताको बीच उभिएका छन्- मिङ्मा शेर्पा।
उनको जीवनकथा कुनै तयार स्क्रिप्ट होइन। उनी केवल चुनावी उम्मेदवार मात्र होइनन्। उनी संखुवासभाको वास्तविक अवस्था र भविष्यमा विश्वास राख्ने आवाज हुन्। उनै शेर्पा, हिमालका भरियादेखि संसदको बाटोमा कदम चालिरहँदा धेरैलाई अचम्म लाग्न सक्छ।
गरिबीले छेकिएको पढाइ, संघर्षले बनेको बाटो
संखुवासभाको दुर्गम भेगमा जन्मिएका शेर्पाको बाल्यकाल त्यति सहज थिएन। कलिलो उमेरमै गरिबी र पढाइ आफ्नो पहुँचभन्दा बाहिर हुँदा उनी काममा लाग्न बाध्य भए। रहरले होइन, बाध्यताले जीवनले उनलाई कठिन बाटोमा हिँडाउन थाल्यो।
आज पनि संखुवासभाका हजारौँ दाजुभाइ–दिदीबहिनीहरू यही बाध्यताको चक्रमा फसेर गाउँ र देश छोड्न विवश छन्। यही पीडा शेर्पाको राजनीतिक यात्राको मूल प्रेरणा हो। ‘रहरले होइन, बाध्यताले देश छोड्न लगाउँछ,’ यो वाक्य उनको भाषण मात्र होइन, उनको जीवनको सत्य हो।
हिमाल जितेर विश्वमा नेपालको नाम, गाउँका युवालाई रोजगारी
देशभर रोजगारी समस्या छ। तर शेर्पा काम गरेर देखाएका नेता हुन्।
शेर्पा राजनेता त होइनन्, तर विश्वप्रसिद्ध पर्वतारोही हुन्। विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने इतिहास रच्ने नेपालीमध्ये उनी अग्रपंक्तिमा पर्छन्।
हिमाल जितेपछि पनि उनी आफ्नो गाउँ र समाजबाट टाढा भएनन्। पर्यटन, ट्रेकिङ र माउन्टेनियरिङ क्षेत्रमा दशकौँको अन्तर्राष्ट्रिय अनुभव प्रयोग गर्दै उनले संखुवासभाका सयौँ युवालाई रोजगारी दिएका छन्।
हजारौँ विदेशी पर्यटक संखुवासभाका हिमाल, पदमार्ग र संस्कृतिसँग चिनाउने काम उनी स्वयंले गरेका छन्। उनको बुझाइ स्पष्ट छ- संखुवासभामा अभाव छैन, व्यवस्थापन र नीतिको कमी मात्र छ।
ट्रेकिङ, पर्यटन र पर्वतारोहणमार्फत सयौँ युवालाई रोजगारी दिइसकेका उनी अब यसलाई संखुवासभा केन्द्रित आर्थिक मोडलमा रूपान्तरण गर्न चाहन्छन्।
संखुवासभाका सम्भावना : यहाँ नहुने केही छैन
अलैंची, अम्रिसो, अल्लो, तामा, पित्तल, कांस्यकला, हिमाली जडिबुटी र अथाह प्राकृतिक सौन्दर्य— संखुवासभा सम्भावनाको खानी हो।
यी उत्पादनलाई बजारसँग जोड्न सक्ने नीति, राज्यको सहयोग र अन्तर्राष्ट्रिय मार्केटिङ चाहिन्छ। यही काम मैले दशकौँदेखि गर्दै आएको छु भन्ने आत्मविश्वास मिङ्मा शेर्पासँग छ।
स्वास्थ्य : हेलिकप्टर उद्धार होइन, स्थायी समाधान
स्वास्थ्य हरेक नेपालीको आधारभूत अधिकार हो। तर संखुवासभाका माथिल्ला भेगमा आज पनि गुणस्तरीय स्वास्थ्य सेवा सपना जस्तै छ।
अफ्ठ्यारो पर्दा उनले कैयौँ संखुवासभालीलाई आफ्नै पहलमा निःशुल्क हलिकप्टरमार्फत काठमाडौँ ल्याएर जीवन बचाएका छन्। तर उनी भन्छन्- ‘यो दया होइन, अधिकारको प्रश्न हो। हेलिकप्टर समाधान होइन, स्थायी स्वास्थ्य संरचना समाधान हो।’
त्यसैले उनी संसदसम्म पुग्ने जमर्को गर्दैछन्- यी आवाज बोकेर।
हिमालजस्तै अडिग, यात्राजस्तै स्पष्ट राजनीति
हिमालको भरियाबाट विश्वका सर्वोच्च शिखर चढ्ने साहस गरेका शेर्पा आज संसदको ढोका ढकढक्याउन खोजिरहेका छन्। भन्छन्, ‘म सत्ता खोज्न होइन, संखुवासभाको सम्भावना खोल्न राजनीतिमा आएको हुँ।’
त्यसैले उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वारका रूपमा मैदानमा छन्। यो चुनाव केवल उम्मेद्वारको होइन, संखुवासभाको आत्मसम्मान, सम्भावना र भविष्यको चुनाव हो।
‘म संखुवासभालाई आर्थिक रूपमा सक्षम बनाउँछु। मलाई संखुवासभाको साथ चाहिन्छ,’ उनी थप्छन् । विश्वले चिनेको यो नाम- मिङ्मा शेर्पा संखुवासभाको आवाज संसदसम्म पुर्याउने यात्रामा छन्।
