काठमाडौँ । काठमाडौँ उपत्यकामा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यले सिसिटिभी प्रणालीको विस्तार, प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे नेपाल प्रहरी र उपत्यकाभित्रका २१ स्थानीय तहबीच समन्वयात्मक छलफल सम्पन्न भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको संयोजनमा मंगलबार आयोजित कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका जिम्मेवार अधिकारीहरू तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलमा उपत्यकाको शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र नागरिकको दैनिकीलाई थप सुरक्षित बनाउने विषयमा सिसिटिभी प्रणालीको जडान, मर्मतसम्भार, प्रविधिको प्रभावकारी प्रयोग तथा प्रहरी र स्थानीय तहबीचको अन्तरनिकाय समन्वयलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले सिसिटिभी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै दिगो र परिणाममुखी बनाउन स्थानीय तह र प्रहरीबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
