गोरखा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र क्षेत्री जिसीले जिल्ला प्रहरी कार्यालय गोरखाको स्थलगत निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, व्यावसायिक र जनमुखी सेवा प्रवाहमा अझ कटिबद्ध हुन निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा डीआईजी क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादन भइरहेका सेवा प्रवाह, अपराध नियन्त्रण तथा अनुसन्धानको अवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षा, देखिएका समस्या र चुनौतीहरूका बारेमा विस्तृत जानकारी लिएका थिए। साथै, प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूको समेत अवलोकन गरेका थिए।
उनले प्रहरी सेवामा समयानुकूल सुधार, चुस्त–दुरुस्त व्यवस्थापन र नागरिकमैत्री व्यवहार अपरिहार्य रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए।
कर्तव्यबाट विमुख नहुने, इमान्दारिता र अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने डीआईजी क्षेत्रीको निर्देशन थियो।
स्थलगत निरीक्षणपछि प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र समय सान्दर्भिक बनाउने उद्देश्यले आवश्यक निर्देशन दिँदै उक्त निरीक्षण कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
