काठमाडौं । राजधानीको बौद्धस्थित कुमारीगालमा रहेको एक पाँचतले घरबाट ठूलो परिमाणमा सुन–चाँदीका गहना चोरी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार मंगलबार मध्याह्न करिब १२ बजेतिर उक्त चोरी भएको हो।
चोरीमा करिब ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरको छतमा परिवारका सदस्य तथा अन्य मानिसहरू बसिरहेको समयमा चौथो तलामा रहेको कोठाबाट चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको कोठाको ढोका कब्जा फुकाइएको अवस्थामा फेला परेको छ, जसले चोरी योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ।
घटनापछि प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी क्यामेराका फुटेज संकलन तथा विश्लेषण गरी अनुसन्धान अगाडि बढाएको छ।
हालसम्म चोरीमा संलग्न व्यक्ति पहिचान भइसकेको छैन।
बौद्ध प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
