टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्ला वर्षहरूमा आन्तरिक विवाद, विभाजन र विश्वासको संकटबाट गुज्रिरहेको छ । यही अवस्थामा संगठनलाई पुनः एकीकृत, सुदृढ र आत्मनिर्भर बनाउने उद्देश्यसहित जापानबाट रोबिन प्रसाद शेरचन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष पदको यात्रामा अघि बढेका छन्।
सन् १९९८ मा उच्च शिक्षाका लागि विद्यार्थी भिसामा जापान आएका शेरचनका लागि त्यो यात्रा केवल व्यक्तिगत प्रगतिसम्म सीमित रहेन । दुई दशकभन्दा बढी समयको निरन्तर मेहनत, संघर्ष र उद्यमशीलताबाट शेरचन आज टोकियोमा नेपाली समुदायका बीच होटल तथा रेष्टुरेन्ट व्यवसायमा स्थापित र विश्वासिलो नाम बनेका छन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सँगै बोकेर हिँड्ने व्यक्तित्वका रूपमा उनी चिनिन्छन्।
जापानमा रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमदेखि लिएर नेपालमा आइपर्ने प्राकृतिक विपत्तिका बेला राहत संकलन र सहयोग अभियानसम्म शेरचनको उपस्थिति नियमित देखिँदै आएको छ। आपतविपद्, दुर्घटना वा समस्यामा परेका नेपालीहरूका लागि आर्थिक तथा मानवीय सहयोग जुटाउने काममा उनी सधैं अग्रपंक्तिमा रहने गरेका छन्। यही कारण, धेरैका लागि उनी सफल व्यवसायी मात्र होइन, भरोसाको पात्र पनि बनेका छन्।
एनआरएनए अभियानमा उनको संलग्नता पनि लामो र निरन्तर छ। हाल आईसीसीका उपाध्यक्ष रहेका उनले यसअघि सल्लाहकार, मानार्थ सदस्य तथा सदस्यको भूमिकामा रहेर संगठनलाई नजिकबाट बुझ्दै आएका छन्। संस्थाभित्रका संरचनागत कमजोरी, नेतृत्व विवाद र नीति–निर्णयका चुनौतीहरूलाई अनुभूति गरेकै आधारमा शेरचनले आईसीसी अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताउँछन्।
आइतबार जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहमा ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नारासहित उनले आगामी सन् २०२५–२७ कार्यकालका लागि एनआरएनए आईसीसी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरे।
उम्मेदवारी घोषणा गर्दै शेरचनले एनआरएनएलाई अब केवल सहयोग संकलन र वितरण गर्ने संस्था मात्र नभई, आफैं सक्षम, पारदर्शी र आत्मनिर्भर संगठनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। ‘संस्थाले दिगो आम्दानीका स्रोत विकास गर्नुपर्छ, नेतृत्वले जवाफदेही बन्नुपर्छ र एनआरएनए विश्वभरका नेपालीको साझा घरजस्तो हुनुपर्छ,’ उनको भनाइ थियो।
आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थ वा लाभका लागि नभएको स्पष्ट पार्दै उनले भने, ‘एनआरएनए अभियानबाट कमाउने, पाउने वा पदको लोभ मेरो उद्देश्य होइन। निष्पक्ष, पारदर्शी र संस्थागत सुधारको स्पष्ट योजनासहित म अघि बढेको हुँ।’
एनआरएनए जापानलाई उदाहरणीय एनसीसीका रूपमा स्थापित गर्दै आईसीसीमा जापानको सकारात्मक छवि प्रस्तुत गर्ने लक्ष्यसमेत उनले अघि सारेका छन्। ‘एनआरएनए जापानको नाम सुन्नासाथ सबैले सकारात्मक दृष्टिले हेर्ने अवस्था बनाउन चाहन्छु,’ उनले भने, ‘सहमति, समावेशिता र क्षमताका आधारमा जापानबाट सबै क्षेत्रको प्रतिनिधित्व हुने सक्षम नेतृत्व आईसीसीमा जानेमा म विश्वस्त छु।’
आगामी मार्च १४, १५ र १६ मा काठमाडौंमा आयोजना हुने एनआरएनएको १२औँ विश्व सम्मेलनबाट नेतृत्वमा पुग्ने लक्ष्य लिएका शेरचनका लागि मुख्य एजेन्डा स्पष्ट छ- संस्थाभित्रको विभाजनको अन्त्य, एकताको पुनर्स्थापना र संगठनको दीर्घकालीन सुदृढीकरण।
यस अभियानलाई सफल बनाउन जापानसहित विश्वभर रहेका नेपालीहरूको सक्रिय सहभागिता, सुझाव र समर्थन अपरिहार्य रहेको उल्लेख गर्दै शेरचनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
एनआरएनए आज निर्णायक मोडमा उभिएको बेला, सुधार र एकताको यात्रामा शेरचनको उम्मेदवारीलाई धेरैले आशा र सम्भावनाका रूपमा हेरिरहेका छन्।
