टोकियो । जापानस्थित नेपाली राजदूतावास बढ्दो नेपाली जनसंख्या, सीमित जनशक्ति र अपुग भौतिक संरचनाका कारण संकटमा छ ।
दूतावास स्थापना हुँदा करिब एक हजार नेपाली मात्र रहेका बेला जति कूटनीतिक कर्मचारी थिए, आज करिब ३ लाख नेपाली पुगे पनि त्यति नै ३ जना कूटनीतिक कर्मचारीकै भरमा सेवा सञ्चालन भइरहेको छ ।
पछिल्लो समय जापानमा करिब ३ लाख नेपालीको संख्या पुगेको दूतावासको तथ्याकंमा उल्लेख छ ।
दूतावास स्रोतका अनुसार दैनिक करिब ३ सय सेवाग्राही दूतावास पुग्ने गरेका छन् । जनशक्ति अभावकै बीच पनि सबै कर्मचारी सातै दिन कार्यालयमा खटिएर सेवा दिइरहेका छन् । ‘यो प्रेसरमा पनि काम गरिरहेका छौँ, विकल्प छैन,’ दूतावासका एक कर्मचारीले भने ।
राजदूतावासले आर्थिक योगदानका हिसाबले पनि उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । अघिल्लो आर्थिक वर्ष मात्रै दूतावासमार्फत ५४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले बताए । जुन अन्य मुलुकस्थित नेपाली दूतावासहरूमध्ये सबैभन्दा धेरै रहेको बताइन्छ ।
तर भौतिक पूर्वाधार भने दशकौँ पुरानै अवस्थामा छ । सन् २००९ मा लिइएको भवनबाट नै अहिलेसम्म सेवा दिइँदै आएको छ । त्यतिबेला जापानमा करिब १० हजार नेपाली थिए । अहिले संख्या ३ लाख नाघ्दा पनि त्यही भवनबाट काम चलाउनु पर्दा दूतावास ‘थेग्नै नसकिने अवस्था’मा पुगेको छ ।
यो अवस्था केवल राजदूतावासको व्यवस्थापन समस्या मात्र नभई जापानमा रहेका लाखौँ नेपालीको साझा संकट रहेको कार्यबाहक राजदूत पौडेल बताउँछन् । जापानमा नेपालीको जनसंख्याअनुसार दूतावासका कर्मचारी संख्या वृद्धि र सुविधासम्पन्न भवन आवश्यक देखिन्छ ।
