टोकियो । जापानको राजधानी टोकियोमा ४२ करोड जापानी येन लुटिएको छ। घटना २०२६ जनवरी २९ तारिख राति करिब ९ः३० बजे टोकियोको ताइतो वार्डमा भएको हो।
जापानी प्रहरीकाअनुसार जापानी र चिनियाँ नागरिक सम्मिलित एक समूहले ठूलो परिमाणको नगद तीनवटा सुटकेसमा राखेर गाडीमा लोड गरिरहेको बेला तीन जनाको समूहले एकाएक आक्रमण गरेको थियो। लुटेराहरूले पीडितमाथि स्प्रे छर्केर नगद भएको सुटकेस लिएर फरार भएका हुन्।
घटनापछि गरिएको अनुसन्धानका क्रममा टोकियोको हानेदा विमानस्थलको पार्किङ क्षेत्रमा पनि यस्तै प्रकृतिको अर्को लुटपाट प्रयास भएको खुलेको छ। त्यहाँ १ अर्ब ९० करोड जापानी येन राखिएको सुटकेस लुट्ने प्रयास गरिए पनि लुटेरा सफल हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनामा प्रयोग गरिएको भाग्ने भ्यान याकुजासँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। हानेदा विमानस्थलबाट फरार भएको गाडीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको तथ्य पनि सार्वजनिक भएको छ।
हालसम्म उक्त ठूलो परिमाणको रकम कुन प्रयोजनका लागि कहाँ लैजान लागिएको थियो भन्ने विषय खुल्न सकेको छैन। घटनालाई गम्भीर रूपमा लिँदै जापानी प्रहरीले लुटेराहरूको खोजी तथा घटनाको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
