काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा नियुक्त पवन कुमार आचार्यले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले गत कात्तिक २४ गते गरेको निर्णयअनुसार उनलाई आगामी कार्यकालका लागि बैंकको नेतृत्व सुम्पिएको हो।
नवनियुक्त सिइओ आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमै विभिन्न जिम्मेवारीमा रहेर विशिष्ट योगदान पुर्याउँदै आएका व्यक्ति हुन्। यसअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।
बैंकको लामो सेवा अवधिमा उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनको मुख्य विशेषज्ञता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा रहेको छ। बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनीसँग इन्जिनियरका रूपमा ४ वर्ष काम गरेको अनुभव छ भने उनले ५ वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा दिएका थिए।
आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमलएनआइटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले आफ्नो विद्यालय तहको एसएलसी परीक्षामा बोर्ड तेस्रो स्थान हासिल गरेर उत्कृष्ट शैक्षिक छवि बनाएका थिए।
