मुम्बई । मुम्बईमा सम्पन्न ‘लोलापालूजा इन्डिया २०२६’ म्युजिक फेस्टिभलमा बलिउड अभिनेत्री दिशा पाटनी र पञ्जाबी गायक तलविन्दरको सामीप्यले सबैको ध्यान खिचेको छ। यस कार्यक्रममा दुवैजना सँगै देखिएपछि उनीहरूको प्रेम सम्बन्धको चर्चाले फेरि बजार तताएको छ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा दिशा र तलविन्दर एक-अर्काको हात समातेर हिँडिरहेको देख्न सकिन्छ। यो जोडी सार्वजनिक रूपमा सँगै देखिएको यो पहिलो पटक भने होइन। यसअघि उदयपुरमा भएको नूपुर र स्टेबिन बेनको विवाह समारोहमा पनि उनीहरू सँगै देखिएका थिए, जसले उनीहरू प्रेममा रहेको आशंकालाई थप बल पुर्याएको छ।
पञ्जाबी इन्डिपेन्डेन्ट गायकका रूपमा चर्चित तलविन्दरको पूरा नाम तलविन्दर सिंह सिद्धू हो। उनी आफ्नो परिचय र अनुहार लुकाउनका लागि परिचित छन्, जसका लागि उनले प्रायः अनुहारमा पेन्ट वा मास्क प्रयोग गर्ने गर्छन्।
पञ्जाबी आर एन्ड बी र पप संगीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने तलविन्दरका ‘गल्ला ४’, ‘मिसफिट’, ‘धुन्धला’ र ‘हसीन’ जस्ता गीतहरू निकै लोकप्रिय छन्। उनले डुआ लिपा र जी(इजी जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूको कन्सर्टमा ओपनिङ प्रस्तुति समेत दिइसकेका छन्।
टाइगर श्राफसँगको ब्रेकअपपछि दिशाको नाम केही समय अलेक्जेन्डर एलिकसँग जोडिएको थियो। तर पछिल्लो समय तलविन्दरसँगको निरन्तर भेटघाट र हात समातेर हिँडेका भिडियोहरूले बलिउडमा नयाँ प्रेम जोडीको चर्चा सुरु भएको छ।
यद्यपि, दुवै पक्षले आफ्नो सम्बन्धबारे अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएका छैनन्।
