काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरूको जीवनस्तर, मनोबल र कार्यक्षमतामा सकारात्मक परिवर्तन ल्याउने निर्णय कार्यान्वयनमा आएको छ।
नेपाल सरकारको निर्णयअनुसार २०८२ साल फाल्गुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका सम्पूर्ण सकल दर्जाका कर्मचारीहरूको राशन स्केल तथा राशन बापतको दैनिक रकम वृद्धि गरिएको छ।
सरकारको यस निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले न्याय, समानता र प्रहरी मनोबल सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आईजीपी कार्कीले राशन रकम वृद्धिको निर्णयले प्रहरी कर्मचारीहरूको सेवाप्रति सम्मान र संस्थागत न्यायको स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। उनका अनुसार नेपाल प्रहरीभित्र लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै सरकारबाट यो निर्णय गरिएको हो।
आईजीपी कार्कीले भनेका छन्, ‘नेपाल प्रहरीको राशन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो।’
उनले यस निर्णयका लागि नेपाल सरकार, तालुक गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
दैनिक आहार तथा पोषणको औसत आवश्यकताको सन्दर्भमा र अन्य सुरक्षा निकायसँगको तुलनामा नेपाल प्रहरीको राशन स्केल लामो समयदेखि न्यून तथा विभेदपूर्ण रहँदै आएको थियो। यस अवस्थालाई समयसापेक्ष र विवेकसम्मत रूपमा सुधार गर्नुपर्ने माग सकल दर्जाबाट दशकौँदेखि उठ्दै आएको थियो।
प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेदेखि नै आईजीपी कार्कीले प्रहरीका सेवा–सुविधा विस्तार र कल्याणसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग पटक–पटक भेटघाट तथा समन्वय गर्दै आएका थिए। उनले तथ्य, आवश्यकता र अन्तरनिकायीय सन्दर्भ प्रस्तुत गर्दै राशन स्केल वृद्धिको आवश्यकता स्पष्ट रूपमा उठाउँदै आएका थिए।
उनको यही निरन्तर पहल, स्पष्ट दृष्टिकोण र नेतृत्वदायी दृढता को परिणामस्वरूप नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको हो।
राशन स्केल वृद्धिले प्रहरी कर्मचारीहरूको आर्थिक सुरक्षा, पोषण अवस्था, स्वास्थ्य र कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै यसले प्रहरी संगठनभित्र मनोबल, अनुशासन र संस्थाप्रतिको आवद्धता दर (Retention Rate) मा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले भोगेको क्षति केवल भौतिक संरचना र मानवीय क्षतिमा मात्र सीमित नभई संगठनको मनोबलमा समेत असर परेको सन्दर्भमा, सरकारको यो निर्णयलाई प्रहरी मनोबल पुनःस्थापनाको महत्वपूर्ण आधार का रूपमा हेरिएको छ।
यस निर्णयबारे प्रहरी महानिरीक्षक कार्कीले आधिकारिक प्रतिक्रिया दिँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। उनका अनुसार प्रहरी संगठनको मनोबल उच्च राख्नु शान्ति–सुरक्षा कायम गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन तथा नागरिक सेवाको गुणस्तर वृद्धि गर्न प्रत्यक्ष रूपमा जोडिएको विषय हो।
