काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निरन्तर पहलपछि माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यस निर्णयसँगै नेपाल प्रहरीले फागुन १ गतेदेखि अन्य सुरक्षा निकायले पाउँदै आएको स्केल बराबरको राशन सुविधा प्राप्त गर्ने भएको छ। लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा देखिँदै आएको असमानता यस निर्णयले अन्त्य गरेको छ।
आईजीपी कार्कीले गत भदौ २७ गते दर्ज्यानी चिन्ह ग्रहण समारोहका क्रममा प्रहरी कर्मचारीको हकहित र मनोबलसँग जोडिएका विषयहरूमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही प्रतिबद्धता अनुरूप राशन स्केल वृद्धि सम्बन्धी प्रस्तावलाई प्राथमिकताका साथ अघि बढाउँदै आएका कार्कीको पहल अन्ततः मन्त्रिपरिषद् निर्णयमार्फत् कार्यान्वयनमा आएको हो।
प्रहरी संगठनभित्र लामो समयदेखि उठ्दै आएको राशन स्केलको विषय समाधान हुँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने, पेशागत सुरक्षाको अनुभूति हुने र संगठनको कार्यक्षमता थप प्रभावकारी बन्ने विश्वास लिइएको छ। साथै, सुरक्षा निकायबीच समान व्यवहार र अवसरको सुनिश्चिततामा समेत यो निर्णय महत्वपूर्ण मानिएको छ।
कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएदेखि नेपाल प्रहरीमा सेवा प्रवाह सुधार, संगठनात्मक अनुशासन मजबुत बनाउने तथा प्रहरी कर्मचारीको हक, हित र मनोबल वृद्धिमा केन्द्रित विभिन्न सुधार कार्यक्रमहरू अघि बढाइरहेका छन्।
प्रहरी संगठनलाई थप व्यावसायिक, उत्तरदायी र जनमुखी बनाउने दिशामा उहाँको सक्रियता स्पष्ट देखिँदै आएको प्रहरी वृत्तको बुझाइ छ।
नेपाल प्रहरी संगठनले लामो समयदेखि अपेक्षा गर्दै आएको यस निर्णयलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ भने प्रहरी कर्मचारीहरूमा सकारात्मक सन्देश गएको बताइन्छ।
