पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईलाई २०८२ साल पुस महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका सबै प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कामको मूल्याङ्कन गर्दा भट्टराईको कार्यसम्पादन सर्वोत्कृष्ट देखिएको हो। संगठनले उनको जिम्मेवारीबोध, इमान्दारिता, कर्तव्यनिष्ठता र उच्च व्यावसायिक दक्षताको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको जनाएको छ।
प्रहरी नायव उपरीक्षक भट्टराईले संगठित नीति निर्देशनबमोजिम आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। विशेषगरी विभिन्न समयमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन २५ वटा सहित ४५ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको कार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा मूल्याङ्कन गरिएको छ।
उनको नेतृत्वदायी भूमिका र परिणाममुखी कार्यशैलीका कारण ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८५’ बमोजिम २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उत्कृष्ट प्रहरी घोषित भट्टराईलाई गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
प्रहरी संगठनभित्र अनुशासन, सेवा प्रवाह र अपराध नियन्त्रणमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने यस अभ्यासले अन्य प्रहरी कर्मचारीलाई समेत थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।

