बारा । बारामा बुधबार बिहान भएको आमा–छोराको दोहोरो हत्या कुनै क्षणिक आवेग वा सामान्य घरेलु विवादको परिणाम थिएन । यो त परपुरुषसँगको अवैध सम्बन्ध, विश्वासघात र आफ्नै परिवार सखाप पार्ने योजनाबद्ध षड्यन्त्रको भयावह कथा भएको प्रहरीले खुलासा गरेको छ ।
परवानीपुर गाउँपालिका–१ रहरियामा २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले मृतक रामेश्वरकी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मनिताले आफ्ना प्रेमीसँग मिलेर पति र सासुको हत्या गर्ने योजना पहिले नै बनाइसकेकी थिइन् । धर्मेन्द्र महतो केही दिनअघि मात्र दुबईबाट नेपाल फर्किएका थिए । उनी फर्किएलगत्तै हत्या हुनु र घटनाको तरिका हेर्दा यो अपराध पूर्वयोजना अनुसार गरिएको ठहर प्रहरीले गरेको छ ।
अनुसन्धानमा संकलित तथ्यअनुसार हत्या ‘सुपारी’ दिएर गराइएको हुनसक्ने गम्भीर आशंका पनि प्रहरीको छ । घटनास्थलमा धारिलो हतियार प्रयोग भएको, हत्या अत्यन्तै निर्मम र पेशेवर शैलीमा गरिएको देखिएपछि एकभन्दा बढी व्यक्ति संलग्न हुनसक्ने कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार मोबाइल फोन कल विवरण, सिसी क्यामरा फुटेज, अभियुक्तका बयान र अन्य प्राविधिक प्रमाणका आधारमा घटनाको श्रृंखलाबद्ध अध्ययन भइरहेको छ ।’घटनामा संलग्न कोही पनि कानुनबाट उम्किन पाउने छैन,’ उनले भने ।
एकै परिवारभित्र पत्नीले नै पति र सासुलाई हत्या गराएको खुलासापछि परवानीपुर क्षेत्र शोक र आक्रोशमा डुबेको छ । स्थानीयवासीले यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका छन् ।
स्थानीयका अनुसार यो घटना सामान्य घरायसी झगडाको विषय होइन । पुरुषसँगको प्रेम, धोका र आफ्नै परिवार समाप्त पार्ने षड्यन्त्रले समाजलाई नै झस्काउने डरलाग्दो रूप लिएको छ ।
