काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ मा बस्ने २१ वर्षीया बसन्ती गोडिया एक महिनाअघि मामाघर जान्छु भनेर हिँडेकी थिइन् । तर, माघ १ मा बिहान घर नजिकै जंगलछेउको इनारमा उनको शव सडेको अवस्थामा भेटियो ।
कपडा र गहनाको आधारमा सो शव बसन्ती गोडियाको पुष्टि भएको छ । शवको पोस्टमार्टम गर्दा मृत्युको कारण ‘चोप इन्ज्युरी टु नेक एण्ड हेड’ भन्ने खुल्यो । अर्थात, टाउको र घाँटीमा चोटका कारण हत्या भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टको आधारमा गोडियाको हत्या भएको निष्कर्षसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । डुडुवा–३ घर भएका उनकै छिमेकी २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरिएको बाँकेका एसपी अंगुर जिसीले बताए ।
गोडिया र बर्मा प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा खटपट आएका कारण बर्माले भेट्न बोलाएर जङ्गलमा हँसियाले लगातार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मोबाइल सम्पर्क विवरण हेर्दा पुस १ देखि उनीहरू सम्पर्कमा थिएनन् ।
बर्माले प्रेम सम्बन्धमा खटपट आएपछि आवेशमा हँसियाले प्रहार गरेर हत्या गरेको प्रहरीलाई बयानमा बताएका छन् । हत्या गरेर आरोपीले शव इनारमा फालेका थिए । प्रयोग नहुने इनारमा शव फालेको हुनाले स्थानीयले ढिलो देखेका थिए ।
आरोपीलाई माघ ११ मा पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए ।
