सल्यान । सल्यान–१ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंह पक्राउ परेका छन्।
बुधबार साँझ काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पअगाडि ‘खतरा’ लेखिएको झोला फालेर भाग्न खोज्दा त्यहाँ खटिएको सेनाको टोलीले सिंहलाई नियन्त्रणमा लिएको हो।
सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार झोलाभित्र कुनै विस्फोटक पदार्थ नभई इँट्टा मात्र भेटिएको छ। यद्यपि, सार्वजनिक स्थलमा शंकास्पद वस्तु फालेर त्रास सिर्जना गरेको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
