सोलुखुम्बु । काठमाडौंका सहकारीहरू फोडेर फरार रहेका एक शृङ्खलाबद्ध चोरी अभियुक्त सोलुखुम्बुको सदरमुकाम सल्लेरीमै बैंक फोड्ने प्रयास गर्दागर्दै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो। उनीमाथि काठमाडौंसहित विभिन्न जिल्लामा चोरी र डकैतीमा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार गत मंगलबार राति करिब १ बजेतिर मुखमा मुकुण्डो लगाएका राई सल्लेरी बजारस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्र प्रवेश गरेका थिए। मुख्य ढोकाको चाबी फोडेर भित्र पसेका उनले दोस्रो तलामा रहेको च्यानल गेट रडको सहायताले तोडफोड गर्न थालेका थिए।
तर, मध्यरातको असामान्य गतिविधि नजिकैका बासिन्दाले देखेपछि होहल्ला भयो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि राई घटनास्थलमै फलामको रड छोडेर अँध्यारोमा भागेका थिए।
बैंकको सीसीटीभी फुटेजको आधारमा खोजी थालेको प्रहरीले सोही दिन दिउँसो नेले बजारबाट उनलाई पक्राउ गर्न सफल भयो। पक्राउ गर्दा घटनामा प्रयोग भएका सामग्रीसमेत बरामद गरिएको प्रहरी जनाएको छ।
अनुसन्धानले राईको आपराधिक गतिविधि सल्लेरीसम्म सीमित नरहेको देखाएको छ। प्रहरीले गरेको बयान र खानतलासीका क्रममा उनले गत २०८१ कात्तिक १० गते थुलुङदुधकोशी–७ देउसास्थित फ्रेमराज खत्रीको किराना पसल फोडी ७ लाख रुपैयाँ नगद र हजारौँ रुपैयाँ बराबरका रिचार्ज कार्ड चोरी गरेको खुलेको छ।
उनको घरबाट एनसेलका चोरी भएका रिचार्ज कार्ड फेला परेपछि उक्त घटनामा संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राई यसअघि पनि काठमाडौंमा चोरी तथा डकैती मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। प्रहरीको अपराध रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनले २०८१ कात्तिकमै काठमाडौंको चाबहिलस्थित ‘पूर्णिमा बचत तथा ऋण सहकारी’ र ‘शुभ विनायक बचत तथा ऋण सहकारी’ फोडेका थिए।
उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई ३ महिना ५ दिन कैद, १५ हजार रुपैयाँ जरिवाना र ४ लाख २९ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। तर, फैसला कार्यान्वयन नगरी उनी फरार भई गाउँ फर्केर पुनः शृङ्खलाबद्ध चोरीमा लागेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार धनकुमार राई अन्य जिल्लामा समेत आपराधिक घटनामा संलग्न हुन सक्ने आशंका गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको र यस व्यक्तिबाट पीडित भएका अन्य व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ।
