बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहारबाट आमा र छोराको हत्या भएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी मण्डल रहेका छन्। घटनामा सुमित्री देवीका श्रीमान् ५० वर्षीय जगरूप मण्डल, २२ वर्षीया छोरी रिना कुमारी र एक जना अन्य सदस्य घाइते भएका छन्।
घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गएराति करिब ३ बजेतिर अज्ञात व्यक्तिहरूले घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेका थिए। आमा र छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले हत्या कसले र किन गरेको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने प्रहरीले घटनासम्बन्धी थप तथ्य संकलन र अनुसन्धान तीव्र पारेको जनाएको छ।
