काठमाडौं । गुल्मी जिल्ला नेपालको लुम्बिनी प्रदेशको पहाडी भू–भागमा अवस्थित एक ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो। विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रभाव जमाउँदै आएका कारण गुल्मीलाई परम्परागत रूपमा मुख्य दलहरूको किल्लाका रूपमा हेरिँदै आएको छ।
तर पछिल्ला निर्वाचनहरूमा त्यो राजनीतिक तस्बिर क्रमशः फेरिँदै गएको देखिन्छ। लामो समयदेखि उही अनुहार, उही शैली र उही आश्वासनबाट दिक्क भएका मतदाताहरू अब वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्। यही जनभावना र परिवर्तनको चाहनालाई समेट्दै गुल्मीको राजनीतिक मैदानमा नयाँ शक्ति प्रवेश गरेको छ।
सोही क्रममा उदीयमान राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिने गरी गुल्मीमा सशक्त उपस्थिति जनाएको छ। रास्वपाले गुल्मी–१ र गुल्मी–२ मा आफ्ना उम्मेदवारहरू उतार्दै यहाँको प्रतिस्पर्धात्मक राजनीतिक परिवेशमा नयाँ ऊर्जा भरेको छ।
यसै सन्दर्भमा राष्ट्रिय रास्वपाले गुल्मी क्षेत्र नं. १ मा सागर ढकाल र क्षेत्र नं. २ मा गोविन्द पन्थीलाई उम्मेद्वारका रूपमा अघि सारेको छ। आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनीहरू पछिल्लो समय घरदैलो तथा जनसम्पर्क अभियानमा सक्रिय छन्।
परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद गर्दै अघि बढिरहेका यी उम्मेद्वारहरूलाई लिएर जिल्लामा चासो बढ्दै गएको छ। रास्वपाले किन यी दुई अनुहारलाई गुल्मीबाट अघि सारेको हो, उनीहरूको पृष्ठभूमि, अनुभव र राजनीतिक दृष्टिकोण के कस्ता छन् भन्ने विषयमा तल खोज्ने प्रयास गरिएको छ।

गोविन्द पन्थीः अनुभवद्वारा सुदृढ उम्मेदवार
गुल्मी–२ बाट रास्वपाका उम्मेदवार पन्थी नेपाल प्रहरीका पूर्व डीएसपी (Deputy Superintendent of Police) र अधिवक्ता पनि हुन्। उनले जागिरको अवधीमा मानव बेचबिखन असुली र अन्य गम्भीर अपराधहरूको अनुसन्धानमा काम गरेको अनुभव छ।
पन्थीले सामाजिक मुद्दा र सुशासनका पक्षमा रहँदै भ्रष्टाचार, असुलीतन्त्र र सामाजिक अन्याय विरुद्ध दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो अनुभव र अनुशासनलाई लागू गर्दै उनले अब राजनीतिक नेतृत्व मार्फत वास्तविक परिवर्तन ल्याउने लक्ष्यसँगै स्थानीय नागरिकसँग संवाद गर्दै घरदैलो अभियानमा सक्रिय रहेका छन्।
उनको व्यक्तित्वमा अनुभव, कानुनी ज्ञान र अपराध नियन्त्रणको पृष्ठभूमि रहेकोले जनताबिच विश्वास जगाउने महत्वपूर्ण पक्ष बनेको देखिन्छ।
सागर ढकालः प्राविधिक क्षमता र नयाँ पुस्ताको आवाज
गुल्मी–१ बाट रास्वपाका उम्मेदवार ढकाल युवा प्राविधिक, हाइड्रो–मेकानिकल इञ्जिनियर, तथा युवा आन्दोलनका सक्रिय नेता हुन्। उनले Pulchowk Campus बाट इञ्जिनियरिङ्गमा स्नातक तथा अक्सफोर्ड विश्वविद्यालयबाट नीति र व्यवस्थापनमा स्नातकोत्तर (Master’s) अध्ययन गरेका छन्।
ढकालले गत निर्वाचनमा डडेल्धुरा क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै कांग्रेस पार्टीका तत्कालीन सभापति विरुद्ध चुनौती दिएर चर्चा कमाएका थिए। यसपालि रास्वपाको टिकटका साथ उनी गुल्मीमा उभिएका छन्।
उनको मुख्य एजेन्डा सुशासन, स्थिर सरकार, प्रशासनिक सुधार र दीर्घकालीन नेतृत्व विकास रहने बताएका छन्। उनले आफ्नो गाउँ गुल्मी र वरपरका जिल्लाहरू बौद्धिक शक्तिको केन्द्र बन्न सक्ने दाबी गर्दै स्थानीय क्षमताको उपयोगले समग्र राष्ट्र विकासमा योगदान पु¥याउन सकिने बताएका छन्।

घरदैलो अभियानः जनता सँगै, उम्मेद्वार सँगसँगै
रास्वपाका उम्मेद्वार पन्थी र ढकाल पछिल्लो एक सातादेखि गुल्मीका गाउँ–बस्तीमा सँगसँगै हिँड्दै, सँगै बस्दै र सँगै खाँदै घरदैलो अभियानमा जुटिरहेका छन्। बिहानै गाउँ पसेर साँझसम्म स्थानीयका आँगन चोक र चौतारोमा पुग्ने उनीहरूको अभियान औपचारिकभन्दा बढी आत्मीय संवादमा केन्द्रित देखिन्छ।
घर–घरमा पुगेर उनीहरू केवल मत मागिरहेका छैनन्, जनताको दुःख, गुनासो र अपेक्षा ध्यानपूर्वक सुन्दै त्यसका सम्भावित समाधानबारे छलफल गरिरहेका छन्। कहिले स्थानीयको घरमै खाना खाँदै, कहिले सामान्य खाट वा चौतारोमै बसेर गफिँदै उनीहरूले मतदातासँग दूरी नभई अपनत्वको सम्बन्ध बनाएका छन्।
उम्मेद्वारहरू सँगसँगै हिँडेर एउटै स्वरमा विकास, सुशासन र परिवर्तनको कुरा राख्दा स्थानीयहरूमा उत्साह थपिएको छ। दुई फरक क्षेत्रका उम्मेद्वार भए पनि एउटै उद्देश्य लिएर एकसाथ देखिनुले जनतामा सकारात्मक सन्देश गएको स्थानीयको प्रतिक्रिया छ।
घरदैलो अभियानका क्रममा उनीहरूको सहज व्यवहार, खुला संवाद र जमिनसँग जोडिएको शैलीलाई जनताले सकारात्मक रूपमा लिएका छन्। यही कारण उनीहरूले आ–आफ्नो क्षेत्रमा मात्र होइन, समग्र गुल्मीमा राजनीतिक उपस्थिति र प्रभाव विस्तार गर्दै गएको देखिन्छ।
जनतासँग सँगै हिँडेर, सँगै बसेर र सँगै बोल्दै अघि बढिएको यो अभियानले उम्मेद्वार र मतदाताबीचको दूरी घटाउँदै विश्वास, अपनत्व र सकारात्मक अपेक्षाको वातावरण सिर्जना गरिरहेको छ।
गुल्मी १ र २ मा रास्वपाका उम्मेदवार पन्थी र ढकालले घरदैलो अभियानमार्फत जनताको समर्थन जुटाउँदै परम्परागत राजनीतिक धारणालाई चुनौती दिइरहेका छन्। उनीहरूको अनुभव, प्राविधिक क्षमता र जनमैत्री अभियान शैलीले स्थानीय मतदाताको मन जित्ने लक्ष्यमा बल पुर्याइरहेको देखिन्छ।
