इलाम । नेपाल प्रहरीभित्र अनुशासन, व्यावसायिक दक्षता र परिणाममुखी कार्यशैलीका लागि परिचित प्रहरी अधिकृत प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्दले इलाम जिल्ला प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन्।
सोमबार इलाम पुगेका एसपी चन्दले जिल्ला प्रहरी कार्यालय इलाममा आयोजित संक्षिप्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीसँग कार्यालयको सम्पूर्ण कार्यभार औपचारिक रूपमा बुझेका हुन्।
पदभार ग्रहणपछि एसपी चन्दले मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिँदै शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा तथा कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे।
उनले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र व्यावसायिक क्षमताको उच्चतम प्रयोगमार्फत जनताको भरोसा जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। इलाम जिल्लाको सुरक्षा अवस्थालाई अझ प्रभावकारी बनाउनेतर्फ आफू केन्द्रित रहने उनको भनाइ छ।
एसपी कुलदीप चन्दको आगमनसँगै इलाम जिल्लामा शान्ति सुरक्षा तथा प्रहरी सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
