चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मिना खरेलले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेकी छन्। भरतपुर महानगरपालिका–लन्कुस्थित आफ्नै निवासबाट सुरु भएको अभियानको अवसरमा विभिन्न राजनीतिक दल तथा समुदायमा आबद्ध महिलाहरूले उनको घरमै पुगेर भव्य स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा र टोल तहसम्मका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उपस्थित महिलाहरूले खरेललाई आशिर्वाद दिँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए। चितवन क्षेत्र नम्बर–२ का प्रायः सबै भू–भागबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा माहोल निकै उत्साहपूर्ण देखिन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार खरेलले आफ्नै निवासमा महिला दिदीबहिनी तथा अभिभावकहरूबाट पाएको आशिर्वादले आफूलाई भावुक र उत्साहित बनाएको बताइन्। महिलाहरूको सक्रिय सहभागिताले आफ्नो जित सुनिश्चित भएको अनुभूति भएको उनको भनाइ थियो।
खरेलले बाल मस्तिष्कदेखि राजनीतिक चेतसम्मको यात्रा समाजसेवामै समर्पित गर्दै महिला तथा बालबालिकाको हकहितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरिन्।
आफूले गरेको योगदानको मूल्याङ्कन गर्दै पार्टीले दिएको उम्मेदवारीप्रति आभार व्यक्त गर्दै उनले भनिन्, ‘पार्टीभित्रका साथीहरू मात्र होइन, पार्टीबाहिरका स्वतन्त्र महिलाहरूले समेत ‘मिनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो’ भन्नु मेरो लागि ठूलो प्रेरणा हो।’
संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरे पनि हाल राजनीतिक दलबाट करिब ११ प्रतिशत मात्र महिला उम्मेदवार रहेको उल्लेख गर्दै खरेलले यसपटक चुनावमा होमिएका महिला उम्मेदवारलाई जिताउनु सबैको साझा चुनौती भएको बताइन्।
चितवन क्षेत्र नम्बर–२ मा आफ्नो मुख्य प्रतिस्पर्धी आफू स्वयं भएको दाबी गर्दै खरेलले यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिलाहरू रहेकोले महिलाहरूले आफूलाई मतदान गर्नेमा पूर्ण विश्वास व्यक्त गरिन्। विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दा संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता उनले दोहोर्याइन्।
विजयपछि चितवन क्षेत्र नम्बर–२ को पहिचानलाई अझ मजबुत बनाउँदै राष्ट्रिय स्तरमै महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने खरेलको भनाइ छ। विगतको अनुभव र व्यावहारिक कार्यसम्पादनका आधारमा आफू जिम्मेवारी वहन गर्न पूर्ण रूपमा सक्षम रहेको उनले स्पष्ट पारिन्।
