सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट औपचारिक रूपमा चुनावी प्रचार सुरू गरेका छन् । एक भिडियो सन्देशमार्फत् उनले काठमाडौं–४ को माया, भरोसा र शुभेच्छा बोकेर सर्लाही आएको उल्लेख गरेका छन् ।
मधेश र पहाडबीचको दूरी घटाउँदै देशलाई जोड्ने उद्देश्यका साथ आफू मधेश आएको बताउँदै थापाले काठमाडौंका कथाहरू मधेशमा सुनाउन र मधेशका पीडा, कथा तथा व्यथाहरू बुझेर काठमाडौं लैजान चाहेको स्पष्ट पारे ।
‘म सबैको सम्मान रहँदा मात्रै नेपालीको सम्मान रहन्छ भन्ने विश्वास राख्छु । म उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, तर अधिकारबिनाको एकतामा पनि मेरो विश्वास छैन,’ थापाले सन्देशमा भनेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेदेखि २०७९ सालसम्म काठमाडौं–४ सँग निरन्तर जोडिएको स्मरण गर्दै थापाले यसपटक पनि काठमाडौं–४ नछोड्न पार्टीका साथीभाइ र शुभेच्छुकहरूले सुझाव दिएको जानकारी दिए । भर्खरै पार्टी सभापतिको जिम्मेवारी सम्हालेको अवस्थामा काठमाडौं–४ झनै सहज रहेको धारणा राखिएको पनि उनले उल्लेख गरे ।
काठमाडौंमा जन्मिएर हुर्किँदै सहरको जीवन र त्यसका कठिनाइहरू नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै थापाले राष्ट्रिय पार्टीको सभापतिका रूपमा मधेशसँगको सम्बन्ध अझै प्रगाढ बनाउने तीव्र इच्छा जागेको बताए ।
‘मधेशको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दाहरू बुझ्ने, समाधानका लागि पहल गर्ने क्रममा म सिङ्गो नेपालको मुद्दा समाधान गर्न अझ प्रभावकारी भूमिका खेल्न सक्छु भन्ने विश्वास छ,’ थापाले भने ।
सिङ्गो देशको नेता बन्नका लागि एकपटक मधेशको माटो ढोग्न, टेक्न र त्यहीँबाट आशीर्वाद लिनुपर्छ भन्ने सोचका साथ आफू सर्लाही ओर्लिएको थापाको प्रष्टोक्ति छ ।
