सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको जिम्मेवारी सम्हाल्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराज सापकोटाले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौँको च.नं. ४८६० मिति २०८२/१०/०४ गतेको पत्रादेशबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका डिआइजी सापकोटाको सोमबार एक कार्यक्रमका बीच स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख वरिष्ठ उपरीक्षक राम प्रकाश शाह, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। कार्यालयमा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूले डिआइजी सापकोटालाई स्वागत गरेका थिए।
स्वागत कार्यक्रमपछि डिआइजी सापकोटाले सलामी ग्रहण गरी अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए। त्यसपछि उनले औपचारिक रूपमा कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
पदभार ग्रहण पश्चात डिआइजी सापकोटाले कर्णाली प्रदेशको शान्ति, सुरक्षा, कानून कार्यान्वयन तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न प्रतिबद्ध भएर काम गर्ने संकेत गरेका छन्।
