रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको निरीक्षण तथा निर्देशन कार्यक्रमका क्रममा डीआईजी खत्रीले खुल्ला सीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले सीमाक्षेत्रलाई अपराधमुक्त बनाउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
डीआईजी खत्रीले देशको बदलिँदो सुरक्षा चुनौती र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै इमान्दार, अनुशासित र जिम्मेवार ढंगले प्रहरी सेवामा समर्पित हुन निर्देशन दिए। साथै उनले सीमा नाकाहरूमा गस्ती, निगरानी र सूचनाको आदान–प्रदानलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्न जोड दिए।
निरीक्षणका क्रममा उनले प्रहरी संगठनको छवि मजबुत बनाउने गरी जनचाहनाअनुसारको सेवा प्रवाह गर्नुपर्नेमा समेत जोड दिएका थिए।
