काठमाडौं । प्रेस काउन्सिल नेपालले स्कुपखबर डटकममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै खण्डन तथा स्पष्टीकरण छाप्न निर्देशन दिएपछि सम्बन्धित समाचारको खण्डन प्रकाशित गरिएको छ।
प्रेस काउन्सिल नेपालले २०८२ माघ ४ गते स्कुपखबर डटकममा प्रकाशित ‘नाम नलिइएको स्टाट्समा पनि आक्रोश : पत्रकार विकलाई प्रहरी खेलाडीको धम्की’ शीर्षकको समाचारप्रति उजुरी परेको जनाउँदै उक्त सामग्री पत्रकार आचारसंहिता विपरीत भएको ठहर गरेको थियो।
काउन्सिलले समाचारमा उल्लेखित आरोप पुष्टि हुने पर्याप्त आधार, प्रमाण र सम्बन्धित पक्षको प्रतिक्रिया समावेश नगरी एकपक्षीय रूपमा समाचार सम्प्रेषण गरिएको भन्दै खण्डन तथा स्पष्टीकरण प्रकाशित गर्न निर्देशन दिएको हो।
काउन्सिलको पत्रअनुसार समाचारमा प्रहरी संगठन तथा व्यक्तिविशेषप्रति धम्की दिएको, सामाजिक सञ्जालमार्फत डर त्रास देखाएको, तथा नाम नखुलाइएका व्यक्तिमाथि गम्भीर आरोप लगाइएको उल्लेख गरिएको थियो। तर ती आरोप पुष्टि गर्ने प्रमाण, स्रोत र सम्बन्धित पक्षको धारणा समेटिएको नदेखिएको काउन्सिलको निष्कर्ष छ।
पत्रकार आचारसंहिता, २०७३ को दफा ४ (५) अनुसार कुनै पनि समाचार सत्य, तथ्य र सन्तुलित हुनुपर्ने तथा कसैको मान–मर्यादामा आँच पुर्याउने खालको सामग्री सम्प्रेषण गर्नु नहुने व्यवस्था रहेको उल्लेख गर्दै काउन्सिलले खण्डन प्रकाशित गर्न निर्देशन दिएको हो।
काउन्सिलको निर्देशन पालना गर्दै स्कुपखबरले विवादित समाचारप्रति खण्डन प्रकाशित गर्दै भविष्यमा यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा थप सतर्कता अपनाउने जनाएको छ।
प्रेस काउन्सिल नेपालले मिडिया हाउसहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र समाचार प्रकाशनअघि पर्याप्त तथ्य, प्रमाण तथा सम्बन्धित पक्षको प्रतिक्रिया अनिवार्य रूपमा समेट्न पुनः आग्रह गरेको छ।

