काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको प्रकरणमा कारबाही गरिएका नेता हरिबोल गजुरेलका पक्षमा धारणा सार्वजनिक गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी संस्थागत बनाउन अपिल गरेका छन् । उनले अन्यथा पार्टी एकीकरणको काम नसक्दै बिश्रृखलतातिर जाने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै खनालले भनेको छन्, ‘एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूला निर्णय गर्न थालिनु, कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म नहुनु र एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना हुन् ।’
उनले आमनिर्वाचन २०८२ सन्निकट रहेको, मुलुकविरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीको घोर षड्यन्त्र चलिरहेको, जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको दोहो¥याएका छन् ।
उनले भनेका छन्, ‘कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न भइरहेकामा यसलाई बल पुर्याउनुको सट्टा एकीकरण घोषणा भएको लामो समयपछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपां भित्र नै नेतृत्वदायी कमिटी नै बनेर संस्थागत निर्णय प्रक्रिया विकसित हुन सकेको छैन ।’
उनले भनेका छन्, ‘नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।’
