डडेलधुरा । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन् । डडेलधुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटमा उल्लेख भएका विवरणका आधारमा प्रहरी हबल्दार यज्ञ साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा राखी घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ ।
भागेश्वर गाउँपालिका–३ स्थायी घर भई हाल अमरगढी नगरपालिका–४ खलंगास्थित जिल्ला प्रहरी कार्यालयको पछाडि बस्दै आएकी सरीता गिरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले बरामद गरेको सुसाइड नोटमा गिरीले प्रहरी चालक साउदकै कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छन् ।
सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै उनले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस् । मरेर के गर्छस् गर भनिस् ।’ नोटमा आफूले बचत गरेको पैसा र सुनसमेत साउदले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।
गिरीले सुसाइड नोटमा लेखेकी छन्, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइ देलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकिन छोरा, माफ गरिदिनु ।’ साथै, आफूबाट लिइएको सुनसमेत छोरालाई दिन आग्रह गरिएको छ ।
डीएसपी सिंहका अनुसार मृतकका परिवारजन डडेलधुरा आइपुगेपछि थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।
यता, मृतकका आफन्तहरूले घटनामा प्रहरी कर्मचारी नै आरोपित भएकाले छानबिन निष्पक्ष नहुने आशंका व्यक्त गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन् ।
मृतक सरीता गिरीका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन् । उनका एक छोरा र एक छोरी रहेका छन् ।
