काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले अत्यावश्यक बाहेकका सबै प्रकारका बिदा बन्द गरेको छ। निर्वाचन अवधिमा सुरक्षा चुनौती बढ्ने भन्दै प्रहरी प्रधान कार्यालयले गत साता नै परिपत्र जारी गरी बिदा नदिन निर्देशन दिएको हो।
२१ फागुनका लागि तय भएको निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल प्रहरीले विशेष रणनीति बनाएर सुरक्षा परिचालन गरिरहेको छ। उम्मेदवारहरूले प्रचार–प्रसार तीव्र बनाएसँगै प्रहरीको जिम्मेवारी र कामको चाप पनि उल्लेख्य रूपमा बढेको छ। यद्यपि, निर्वाचन सुरक्षामा खटिने विशेष प्रहरी भने २५ माघबाट मात्र परिचालन हुने बताइएको छ।
निर्वाचन प्रहरी भर्नामै समस्या देखिँदा परिचालनमा ढिलाइ भएको प्रहरी स्रोतको भनाइ छ। कतिपय जिल्लामा मागअनुसार आवेदन नपरेपछि आवश्यक संख्यामा जनशक्ति जुटाउन कठिनाइ भएको छ।
उता, निर्वाचनमा खटिने प्रहरीका लागि भत्ता र बिमासम्बन्धी विषय अझै स्पष्ट हुन सकेको छैन। भत्ताका लागि बजेट आए पनि कति दिनको भत्ता दिने भन्ने टुंगो नलागेको प्रहरी स्रोत बताउँछ।
यसैबीच, निर्वाचन प्रहरीका लागि खरिद गरिने कपडा तथा अन्य सामग्रीमा अनियमितताको आरोपसमेत उठेको छ। प्रतिस्पर्धाबिनै करिब एक अर्ब रुपैयाँ बराबरका सामग्री खरिद गर्न लागिएको भन्दै प्रहरी संगठन विवादमा तानिएको छ।
प्रहरीविरुद्ध मुद्दा हालेका ठेकेदारसँग मिलेमतो गरेर ठूलो परिमाणमा सामान खरिद गर्न खोजिएको आरोप लागेपछि यो विषय थप चासोको केन्द्र बनेको छ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थापन, प्रहरीको सुविधा र खरिद प्रक्रियामा देखिएका यी अन्योल र विवादले सरकार तथा सम्बन्धित निकायको ध्यान तानिरहेको छ।
