काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनी तीन दिनदेखि बेपत्ता थिए। माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्केका जिसी त्यसपछि बेपत्ता भएका हुन्। उनको स्कुटी बाटोमा भेटिएको थियो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर बुबाको उपचार भइरहँदा पनि बिदा नपाएपछि उनी तनावमा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार, शवको पोस्टमार्टम भइसकेको छ। मोबाइलको लक खुलेपछि मात्रै मृत्युको कारण खुल्ने उनको भनाइ छ।
