काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट संखुवासभा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका मिङ्मा शेर्पाले हिमालको शिखरपछि अब राष्ट्र निर्माणको अर्को शिखरतर्फ कदम चालेका छन्।
विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गरी विश्व इतिहास रचिसकेका शेर्पा अनुशासन, साहस र परिणाममुखी नेतृत्वका प्रतीकका रूपमा चिनिन्छन्। अब उनले संखुवासभाका जनताको आवाज संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संखुवासभा जिल्ला अन्तर्गत मकालु गाउँपालिका–१, वालुङमा जन्मिएका मिङ्मा शेर्पाले हिमालमा मात्र होइन, व्यवसायिक क्षेत्रमा पनि आफूलाई सफल नेतृत्वका रूपमा स्थापित गरिसकेका छन्।
नेपालको सबैभन्दा ठूलो ट्रेकिङ तथा आरोहण कम्पनी सेभेन समिट ट्रेक्स प्रा.लि. का अध्यक्षका रूपमा उनले हजारौँ नेपालीलाई रोजगारी प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका छन्।

रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका शेर्पा पुरानो राजनीतिक संस्कारभन्दा फरक, नयाँ सोच, इमानदार राजनीति र जवाफदेही नेतृत्वको प्रतिनिधित्व गर्ने नेताका रूपमा प्रस्तुत भएका छन्।
हिमालले सिकाएको धैर्य, जोखिम व्यवस्थापन र संघर्षबाट आर्जित अनुभवलाई अब देश र जनताको सेवामा समर्पण गर्ने उनको दृढ अठोट छ।
हिमाल चढेर विश्व चिनाएका मिङ्मा शेर्पा अब राजनीतिक यात्रामार्फत संखुवासभा र देशलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
