दाङ । नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाट, काठमाडौँबाट सरुवा भई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा आएका डीआइजी खत्रीको स्वागत तथा कार्यालय प्रमुखको पदभार ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ अधिकारी, विभिन्न इकाइ प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। पदभार ग्रहणपछि डीआइजी खत्रीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा आफू प्रतिबद्ध भएर काम गर्ने बताए।
उनले प्रदेशको सुरक्षा अवस्था थप सुदृढ बनाउँदै प्रहरी संगठनलाई अनुशासित, व्यावसायिक र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।
अनुसन्धान, नेतृत्व क्षमता र संगठन व्यवस्थापनमा अनुभवी डीआइजी खत्रीको कार्यकालमा लुम्बिनी प्रदेशमा शान्ति सुरक्षा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
