काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोशन दानीले भावुक सन्देशसहित आफ्नो चुनावी यात्राको औपचारिक घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देशप्रतिको माया, त्याग र बलिदानीको स्मरण गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए।
दानीले आफ्नो सन्देशमा ७४ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘यी कलिला सहिद र राष्ट्रका सपना बोकेर आजबाट मेरो यात्रा सुरु भएको घोषणा गर्दछु। हाम्रै उमेरका सपना, देशप्रतिको माया र त्यागको स्मरणसहित ७४ जनाको बलिदानीलाई सलाम गर्दै यो यात्रा थालेको हुँ।’
देशको वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दानीले आफू कुनै व्यक्तिगत स्वार्थ, लाभ वा लस्करका लागि चुनावी मैदानमा नआएको स्पष्ट पारेका छन्। उनकाअनुसार देश र जनताको पक्षमा उभिएर संघर्ष गर्ने उद्देश्यले आफू उम्मेदवार बनेको हो।
उम्मेदवारी घोषणासँगै काठमाडौं–९ मा चुनावी सरगर्मी बढ्ने अपेक्षा गरिएको छ। दानीले सामाजिक न्याय, राष्ट्रिय हित, पारदर्शी शासन र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
चित्रबहादुर केसी नेतृत्वको राजमोबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका दानीको चुनाव चिन्ह गिलास हो।
