काठमाडौं । हाम्रो समाजमा अझै पनि महिलालाई कमजोर ठान्ने सोच जीवितै छ । ‘महिलाले के नै गर्न सक्छ र ?’ भन्ने मानसिकता कायमै छ । तर, यही सोचलाई चुनौती दिँदै नेपाल प्रहरीले देशकै सबैभन्दा संवेदनशील मानिएको जिल्ला झापाको कमाण्ड एक महिला प्रहरी अधिकृतलाई सुम्पिएको छ ।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले झापाको प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारी बसुन्धरा खड्कालाई दिएका छन् । खड्का प्रहरी संगठनभित्र निडर, क्षमतावान र परिणाममुखी कमाण्डरका रूपमा परिचित छिन् ।
चुनावी झापामा किन बढ्यो चुनौती ?
झापामा पाँचवटा निर्वाचन क्षेत्र छन् र सबै क्षेत्रमा हेविवेट नेताबीच कडा प्रतिस्पर्धा हुँदैछ । त्यसमा पनि क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिएको छ ।
यही संवेदनशील अवस्थामा सरकारले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गर्दै खड्कालाई जिल्लाको कमाण्ड सुम्पिएको हो । चुनावी आचारसंहिता लागू हुने अन्तिम रात गरिएको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अनुभवी र परीक्षित कमाण्डर
एसपी खड्का यसअघि बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत थिइन् । त्यसभन्दा अघि काभ्रे जिल्लाको कमाण्ड सम्हाल्दा उनले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेकी थिइन्, जसका लागि प्रदेश प्रहरीबाट सम्मानित पनि भइन् ।
उनले २०७४ सालको स्थानीय तह निर्वाचन तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा म्याग्दी जिल्लाको कमाण्ड सफलतापूर्वक सम्हालेकी थिइन् । २०६४ सालको निर्वाचनमा पनि उनी सोह्रखुट्टे प्रभागको प्रमुख भएर खटिएकी थिइन् । चुनावी सुरक्षामा उनको अनुभव र ट्र्याक रेकर्ड बलियो छ ।
झापा ५ केन्द्रित कडा सुरक्षा योजना
ओली र बालेनबीचको राजनीतिक तिक्तताले झापा ५ लाई थप संवेदनशील बनाएको छ । दुवै उम्मेदवारलाई अगुवा–पछुवा गाडीसहित सुरक्षा दिइएको छ । ठूलो संख्यामा सादा पोसाकका प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ ।
यता, कोशी प्रदेश प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएका छन् भने इलाका प्रहरी कार्यालय काकडभिट्टा र दमकका प्रमुखसमेत हेरफेर गरिएको छ ।
