काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ।
यस सेलमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अफवाह फैलाउने, गलत सूचना प्रवाह गर्ने र निर्वाचन प्रक्रिया प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्ने काम गरिने बताइएको छ।
मंगलबार गृहमन्त्री ओमप्रकाश आर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेले साइबर सेलको सुरुवातको जानकारी दिएका हुन्। उनीहरूका अनुसार निर्वाचन आयोगसँग समन्वय गर्दै डिजिटल माध्यममा देखिने शंकास्पद गतिविधिको निगरानी, नियमन र नियन्त्रण गर्न सेल सक्रिय गरिएको हो।
साइबर सेलले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा देखिने अफवाह, भ्रामक सूचना र निर्वाचन केन्द्रित अनुचित गतिविधि पहिचान गरी आवश्यक परेमा निर्वाचन आयोगलाई जानकारी दिनेछ।
आयोगले छानबिनपछि गलत वा भ्रामक सामग्री पुष्टि भएमा प्रविधिको सहायताले सामग्री हटाउने र कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनेछ।
प्रवक्ता काफ्लेका अनुसार देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत अफवाह र गलत सूचना फैलाउने गतिविधि सूक्ष्म निगरानीमा राखिएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्न डिजिटल माध्यमको दुरुपयोग रोक्नु अहिलेको प्रमुख चुनौती भएको र त्यसैका लागि साइबर सेललाई सक्रिय बनाइएको हो।
