काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न कडा निर्देशन दिएका छन् ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले निर्वाचनको संवेदनशीलता बुझेर काम गर्न आग्रह गरेका हुन् ।
महानिरीक्षक कार्कीले आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्न सूचना सङ्कलनमा जोड दिँदै कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्न भनेका छन् ।
त्यस्तै, फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाउन र हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाउन पनि उनले सचेत गराए ।
निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी छनोट प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा आईजीपी कार्कीले विशेष जोड दिएका छन् ।
कार्यक्रममा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख सुशील सिंह राठौरले पनि समसामयिक सुरक्षा चुनौतीका विषयमा आवश्यक निर्देशन दिएका थिए ।
सम्बोधन कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेशका प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा विभिन्न गण र तालिम केन्द्रका प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
