काठमाडौं । कुनै समय नेपाल प्रहरी संगठनभित्र अब्बल प्रशासक, सुधारक र स्पष्ट वक्ताका रूपमा परिचित पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गरेका छन्।
प्रहरी संगठनको सर्वोच्च तहसम्म पुगेका खनाल पछिल्लो समय पूर्ण रूपमा राजनीतिमा सक्रिय देखिएका छन्। निर्वाचनलाई लक्षित गर्दै उनले सिमरामा घर भाडामा लिएर बसोबासको केन्द्र नै बारा बनाएका छन्। बारा–४ का गाउँ, टोल र बस्तीहरूमा पुगेर उनले विशेषगरी जेनजी (Gen Z) र युवाहरूसँग भेटघाट तथा छलफललाई प्राथमिकता दिइरहेका छन्।
खनालकाअनुसार, आजका युवाहरूको भावना केवल युवाको मात्र नभई आम नागरिकको साझा भावना हो। ‘जेनजीहरूले उठाएका मुद्दा रोजगारी, अवसर, पारदर्शिता र भविष्यसँग जोडिएका छन्,’ उनी भन्छन्, ‘मेरो पार्टीले उनीहरूको प्रतिनिधित्व गर्छ र उनीहरूका मागलाई संस्थागत रूपमा सम्बोधन गर्छ।’
यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका खनाल काठमाडौं–६ र तनहुँ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिए पनि सफलता हासिल गर्न सकेनन्। २०७९ को निर्वाचनमा बारा–४ बाटै उम्मेदवारी दिने तयारी गरेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए। यसपटक भने उनी आफ्नै नेतृत्वमा गठन गरिएको ‘समुन्नत नेपाल पार्टी’ बाट चुनावी मैदानमा छन्।
खनाल नेतृत्वको दलले बाँसुरी चुनाव चिन्ह आफ्नो निर्वाचन चिन्ह राखेको छ ।
गृहजिल्ला तनहुँ छोडेर बारा–४ रोज्नुको कारणबारे खनालको तर्क फरक छ। प्रहरी संगठनमा रहँदा आफूले बाराका जनताका लागि उल्लेखनीय काम गरेको र त्यसको मूल्यांकन यहाँका नागरिकले गर्ने विश्वास उनको छ। ‘लामो समय प्रहरी संगठनमा रहँदा मैले बारामा जनताको सेवा गरेको छु,’ खनाल भन्छन्, ‘मैले गरेको कामको सम्मान हुनेछ भन्ने अपेक्षा गरेको छु। यहाँका जनताको अमूल्य मत खेर नजाओस् भन्ने मेरो चाहना हो।’
बारा–४ मा १ उपमहानगरसहित ४ वटा पालिका पर्दछन्। यहाँ करिब १ लाख ७ हजार मतदाता रहेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट गठबन्धन उम्मेदवार किसान श्रेष्ठले ३० हजार ३४१ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका एकवाल मियाँले २० हजार ३३६ मत पाएका थिए।
को हुन् सर्वेन्द्र खनाल?
खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन्। खनालले २०४६ सालमा निरीक्षक (इन्स्पेक्टर)बाट नेपाल प्रहरीमा सेवा सुरु गरेका थिए र करिब तीस वर्ष सेवा गरी २६औंँ प्रहरी महानिरीक्षक बनेका थिए।
प्रहरी नेतृत्वमा रहँदा संगठनात्मक सुधार, कार्यसम्पादनमा अनुशासन, प्रशासनिक पारदर्शिता र स्पष्ट निर्णय क्षमताका कारण उनी छुट्टै पहिचान बनाउन सफल भए। सेवा अवधिभर उनले ‘कडा तर इमानदार प्रशासक’ को छवि बनाएका थिए।
प्रहरी सेवामध्ये उनी अपराध महाशाखाको प्रमुख समेत रहँदा प्रसिद्ध गुण्डा नाइके कुमार ‘घैटे’ को इन्काउन्टर र राष्ट्रिय फुटबल म्याच–फिक्सिङ प्रकरणको जाँच नेतृत्व गरी चिनिएका थिए, जसले गर्दा उनी ‘सेलिब्रिटी अफिसर’ का रूपमा पनि परिचित थिए।
आफ्नो कार्यकालमा उनले समुदाय–प्रहरी साझेदारी, भ्रष्टाचार विरोधी अभियान, धेरै स्थानीय तहसँग साझेदारी सम्झौता, प्रहरी कार्यालय निर्माणलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरे।
प्रहरी संगठनबाट अवकाशपछि उनले राजनीति मार्फत सुशासन, जवाफदेहिता र प्रणालीगत सुधारको एजेन्डा अघि बढाउने घोषणा गरेका छन्। उनले घनिष्ठ रूपमा नेपाल प्रहरीमा लामो समय सेवा गरेका थिए र त्यसपछि राजनीति र सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्।
प्रहरी संगठनको नेतृत्वबाट राजनीति र संसद्को यात्रा तय गर्न खोजेका खनालका लागि बारा–४ यसपटक केवल निर्वाचन क्षेत्र मात्र होइन, आफ्नो राजनीतिक विश्वसनीयता र नयाँ दल ‘समुन्नत नेपाल पार्टी’को भविष्य परीक्षण हुने मैदान बनेको छ।
