विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको तथा जघन्य अपराध अनुसन्धानमा देखाएको व्यावसायिकताका कारण थापालाई उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)को बन्चरो प्रहार गरी हत्या तथा नगद र सुनका गहना लुटपाट गरिएको घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए।
यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल सञ्चालक दम्पति ६० वर्षीय सोवितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापा मगरको कोदालो तथा अन्य हतियार प्रयोग गरी गरिएको निर्मम हत्या तथा नगद र सुन लुटिएको घटनाको अनुसन्धानमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
यी दुबै जघन्य अपराधमा संलग्न चार जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएपछि स्थानीयस्तरमा शान्ति सुरक्षाप्रति जनविश्वास थप बलियो बनेको प्रहरीको भनाइ छ।
शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धानमा देखाएको प्रतिबद्धता, साहस र कार्यक्षमताको कदरस्वरूप थापालाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यस्ता पुरस्कारले प्रहरी कर्मचारीहरूमा उत्साह, जिम्मेवारीबोध र जनमुखी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
