काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको रौनक चलिरहँदा आफू त्यस उत्साहमा मिसिन नसकेको गुनासो गरेका छन् ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा देशका तीनवटा जिल्ला अदालत पर्सा, काठमाडौं र रूपन्देहीमा एकैदिन सुनुवाइ चलिरहेका कारण आफू मानसिक रूपमा दबाबमा परेको उनले बताएका छन्।
पर्सा जिल्ला अदालतले सोमबार लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। अदालतबाट निस्किएलगत्तै उनले सामाजिक सञ्जालमार्फत देश निर्वाचनमय बनेको बेला आफू अदालत धाइरहनु परेकोप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारी गरे पनि समय अभावका कारण वारेसमार्फत मनोनयन दर्ता गराउने बताएका छन्।
सोही क्षेत्रबाट उनी यसअघि विजयी भएका थिए। नागरिकता प्रकरणमा पद गुमेपछि भएको उपनिर्वाचनमा पुनः जिते पनि सम्पत्ति शुद्धीकरण मुद्दाका कारण दोस्रो पटक पनि सांसद पद गुमाउनुपरेको थियो।
लामिछानेले लेखेका छन्, ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकि आजै देशका तीनवटा (पर्सा, काठमाडौँ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ।’
उनले पर्सा जिल्ला अदालतबाट निस्किएको उल्लेख गर्दै चितवन–२ मा शुभचिन्तकहरू बाटो कुरिरहेको बताए। ‘भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु, नसकेको खण्डमा वारेसमार्फत मनोनयन दर्ता हुनेछ,’ उनले लेखेका छन्।
आफूमाथि अन्याय र षड्यन्त्र गरिएको दाबी गर्दै लामिछानेले फागुन २१ को निर्वाचनलाई “हिसाब–किताबको दिन” भनेका छन्। ‘म माथि गरेको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन्,’ उनले चेतावनी दिएका छन्।
उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएको आफूलाई गनेरै नसकिने मुद्दा लगाइएको आरोप लगाएका छन्। ‘नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू,’ उनको भनाइ छ।
लामिछानेले आफ्ना विरोधीहरूलाई लक्षित गर्दै “म अभिमन्यू होइन” भन्दै आफूलाई कमजोर नठान्न चेतावनीसमेत दिएका छन्।
‘मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुन लगाएका छौँ। म तिमीहरू सबैको गुन तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु,’ उनले लेखेका छन्।
