काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेस प्रदेश कमिटी सदस्य डा. इन्द्रजित महतोले पार्टी नेतृत्वले प्रतिनिधिसभा उम्मेदवारको टिकट बिक्री गरेको आरोप लगाएका छन्। सर्लाही ३ बाट टिकटका आकांक्षी महतो मेडिकल डाक्टर हुन्।
आफूले पाउन लागेको टिकट अन्तिम अवस्थामा पार्टीले नेता नरेन्द्र साह कलबारलाई बेचेको उनको आरोप छ। ‘सर्लाही ३ मा रास्वपाबाट सबैभन्दा बलियो दाबेदार म नै थिएँ,’ महतोले भने, ‘तर हिजो मात्रै रास्वपा प्रवेश गरेका अमरेस सिंह, जिल्ला सभापति सरोज बानियाँ लगायतले नरेन्द्र साहलाई टिकट बेचे।’
उनले टिकट किनबेचमा रास्वपाका प्रवक्ता मनिष झा, पुरुषोत्तम यादव लगायत पनि सहभागी भएको आरोप लगाएका छन्। गएराति जनकपुरमा प्रतिनिधिसभाको टिकट किनबेच भएको आरोप महतोको छ।
‘टिकट किनबेच भएपछि राति जनकपुरमा नेताहरुविरुद्ध नाराजुलुश पनि भयो,’ उनले भने, ‘परिवर्तनको नेतृत्व गर्छु भनेर आएको रास्वपा पनि पुरानै पार्टीहरू जस्तो भएर देखापर्यो।’
सर्लाही ३ बाट महतोसँगै रास्वपाका जिल्ला सभापति सरोज बानियाँ, दिपक महतो लगायतका नेता उम्मेदवारका आकांक्षी थिए।
डा. महतो नागरिकता कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीमा जाहेरी दिने नेता हुन्।
रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला उनी सिरोहियाविरुद्ध उजुरी गरेर चर्चामा आएका थिए।
