काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा मन्त्रिपरिषद् नै हलचलमा परेको छ। चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका दुई मन्त्रीले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्।
चुनाव लड्नका लागि राजीनामा दिन लागेको जानकारी उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत गराइसकेको एक मन्त्रीले पुष्टि गरे। राजीनामा दिनेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रहेका छन्।
प्रधानमन्त्री कार्कीले यसबारे अन्य मन्त्रीहरूलाई पनि जानकारी गराइसकेको स्रोतको भनाइ छ।
सरकारभित्रै अर्का एक मन्त्रीले पनि राजीनामा दिन सक्ने चर्चा चलिरहेको छ। प्रधानमन्त्री कार्कीले तीन जना मन्त्री राजीनामा दिएर निर्वाचनमा होमिन सक्ने विषय अन्य मन्त्रीहरूसँग छलफल गरे पनि तेस्रो मन्त्रीको विषयमा भने अझै पक्का भइसकेको छैन। दुई मन्त्रीले भने सोमबार नै राजीनामा दिने निश्चित भएको बताइएको छ।
खरेल र गुप्ता दुवै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीमा छन्।
यसअघि ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कुलमान घिसिङले पनि राजीनामा दिइसकेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले निर्वाचनमा उम्मेदवार बन्नकै लागि पद त्यागेका हुन्।
निर्वाचनकै कारण स्थानीय तहका प्रमुखहरूले समेत पद छाड्ने क्रम तीव्र बनेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिइसकेका छन्।
बालेन झापा–५ बाट र सम्पाङ सुनसरी–१ बाट उम्मेदवार बन्दैछन्। यस्तै, चितवन महानगरपालिकाकी मेयर रेनु दाहाल पनि चितवन–३ बाट उम्मेदवारी दिन राजीनामा गर्ने तयारीमा रहेको बताइएको छ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते मंगलबार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार दर्ता हुँदैछ। दलहरू उम्मेदवार छनोट र टिकट वितरणमा व्यस्त रहेका बेला प्रमुख दलहरू आन्तरिक समीकरण मिलाउन सक्रिय छन्।
तर, नेपाली कांग्रेस भने आन्तरिक विवादका कारण उम्मेदवार टुंग्याउन सकिरहेको छैन। कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार दर्ता गर्ने मिति पछि सार्न आग्रह गरे पनि निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ।
यसैबीच आइतबार रातिबाट निर्वाचन आचारसंहिता लागू भइसकेको छ, जसले सरकार र दलहरूको गतिविधिमा थप कडाइ ल्याएको छ।
