चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गढ मानिएको क्षेत्र चितवन निर्वाचन क्षेत्र नम्बर २, मा नेपाली कांग्रेसले स्थानीय स्तरमा लोकप्रिय महिला उम्मेदवार उठाउने तयारी गरेको छ ।
नेपाली कांग्रेसले चितवनमा रहेको ३० वर्षभन्दा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय महिला अभियन्ता मिना खरेललाई आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो ।
जिल्ला सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति जीत नारायण श्रेष्ठलगायतका उम्मेदवार क्षेत्र नम्बर २ बाट सिफारिस भएकामा अधिकारकर्मी खरेललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस चितवन स्रोतले बतायो ।
खरेल नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी चितवनमा महिला अधिकार, महिलाको आर्थिक सशक्तीकरणको क्षेत्रमा सक्रिय छिन् । उनले चितवनमा पहिलो पटक हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन पुर्नस्थापना गृह सञ्चालन गरेर हिंसा प्रभावितलाई सामाजिक तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमको समेत अगुवाइ गरेकी छन् ।
