रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पुस महिनामा सम्पादन गरेका गतिविधिहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार चोरी पैठारी रोकथाम तथा फरार प्रतिवादी पक्राउमा प्रहरीलाई उल्लेख्य सफलता प्राप्त भएको छ।
प्रहरीका अनुसार पुस महिनाभर जिल्लामा जम्मा ८३ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। दर्ता मुद्दामध्ये सङ्गठित तथा आर्थिक अपराधका २६ वटा सबैभन्दा धेरै रहेका छन् भने सामाजिक अपराधका १८, आत्महत्यासम्बन्धी ७, ज्यानसम्बन्धी ५, चोरीका ४ तथा महिला तथा बालबालिकासम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन्।
गम्भीर अपराधतर्फ बैंकिङ कसुरका मात्रै २२ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै, वर्षौँदेखि अदालतको फैसला कार्यान्वयनबाट उम्किँदै फरार रहेका ६२ जना प्रतिवादीलाई यही अवधिमा पक्राउ गर्न प्रहरी सफल भएको छ।
आर्थिक अपराध र चोरी नियन्त्रणतर्फ प्रहरीले ४२ लाख ६८ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान र करिब ५ लाख रुपैयाँ बराबरका राजस्व छलीका सामग्री बरामद गरेको जनाएको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत १ हजार २ सय ६० क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरिएको छ।
यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवाद समाधान गर्दै १० लाख ९५ हजार रुपैयाँ असुली गराई तमसुक फिर्ता गराइएको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ १ हजार १ सयभन्दा बढी सवारी साधनलाई कारबाही गरी १२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। पुस महिनामा जिल्लाभर ७६ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४ जनाले ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालकाअनुसार पुस महिनामा हराएका १७ जनामध्ये ८ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ। साथै, जिल्लामा सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका सवारी साधनको विस्तृत अभिलेख राख्ने कामसमेत सुरु गरिएको उनले जानकारी दिए।
प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।
