काठमाडौं । लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्ट पक्राउ परेपछि प्रहरी संगठनभित्र तरंग सिर्जना भएको छ।
बिष्टसँगै अर्का एक प्रहरी जवान पनि पक्राउ परेका छन्। उनीहरू दुवै घुमुवा प्रहरीका रूपमा परिचालित थिए। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको परिसर स्रोतले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई दुवै प्रहरीलाई चार दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले लागूऔषध कारोबारीसँग आर्थिक लेनदेन गरेको आशंका गरिएको छ।
धिरेन बिष्ट लामो समयदेखि काठमाडौं उपत्यकामा घुमुवा प्रहरीका रूपमा कार्यरत रहँदै आएका थिए। घुमुवा प्रहरीहरू सादा पोशाकमा सूचनाको संकलन तथा अपराध नियन्त्रणमा खटिने भए पनि पछिल्लो समय उनीहरूकै संलग्नतामा अवैध गतिविधि बढ्दै गएको भन्दै प्रहरी संगठनमाथि नै प्रश्न उठ्न थालेको छ।
यो पहिलो पटक होइन जब बिष्ट विवादमा तानिएका हुन्। यसअघि २०७७ साल असार महिनामा उनी र अर्का प्रहरी बिक्रम चन्द हुन्डी कारोबारीलाई लुटेको आरोपमा पक्राउ परेका थिए।
न्यूरोड क्षेत्रका एक व्यापारीसँग १० लाख रुपैयाँ असुली गरेको खुलासा भएपछि उनीहरू दुवै कारबाहीमा परेका थिए।
