काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी भएको छ । हालै ११ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएसँगै संगठनमा २१ वटा डिएसपी पद रिक्त भएको छ । बढुवा सिफारिस भएका एसपीहरुलाई सम्भवतः आउँदो मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरिने तयारी छ।
बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले चर्को लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टर रहेका छन्।
सिनियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको छ । यही कारण डिएसपी बढुवा प्रक्रिया प्रहरी संगठनभित्र जटिल र संवेदनशील बन्दै गएको छ।
स्रोतका अनुसार सिनियारिटीलाई मात्र आधार मान्दा संगठनमा लामो समय योगदान दिएका अन्य प्रहरी अधिकृतहरू अन्यायमा पर्ने जोखिम देखिएको छ । यही द्विविधाका कारण प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की स्वयं बढुवा प्रक्रियामा अन्यौलमा परेका छन्।
संगठनभित्र डिएसपी बढुवा निर्णय लिनु ‘ढुंगा चपाए जस्तै’ कठिन बनेको टिप्पणी हुन थालेको छ।
प्रतिस्पर्धामा रहेका १२४ जना इन्स्पेक्टरमध्ये करिब २५ देखि ३० जना विभिन्न समयमा कारबाहीमा परेका व्यक्तिहरू रहेको बताइन्छ । यद्यपि उनीहरू नै अहिले प्रभावशाली रूपमा अघि बढिरहेको स्रोतको दाबी छ। जसको नेताहरूसँग राम्रो सम्बन्ध छ, उनीहरू नै बढुवामा पर्ने देखिएको छ ।
आईजीपी कार्की भने कारबाहीमा परेकाहरूलाई बढुवा गर्न नहुने अडानमा देखिएका छन्। प्रहरी महानिरीक्षक कार्की राजनीतिक आडमा बढुवा ननिस्किने बताउँछन् । संगठनमा राम्रो र सक्षम प्रहरी अधिकृतलाई असर नपर्ने गरी बढुवा गर्नुपर्ने पक्षमा आफू रहेको आईजीपी कार्कीले बताए ।
प्रहरी व्यवस्थाअनुसार एसपीसम्म बढुवाको अधिकार आईजीलाई छ । त्यसैले आईजीपी कार्कीले सक्षम, इमान्दार र संगठनप्रति बफादार अधिकृतलाई बढुवा गर्छन् या कारबाही पाएका अधिकृतलाई ? त्यो बढुवापछि थाहा नै हुन्छ ।
तर, गृहमन्त्री तथा प्रधानमन्त्री निकटका केही व्यक्तिहरूले कारबाही पाएका इन्स्पेक्टरहरूको पक्षमा दबाब दिइरहेको चर्चा संगठनभित्र छ।
केही विवादित निरीक्षकहरू बढुवाका लागि बालुवाटार र गृह मन्त्रालयसँग नजिक रहेका व्यक्तिहरूलाई प्रयोग गरेर शक्तिकेन्द्र धाइरहेका छन् । जसकारण बालुवाटार र गृह मन्त्रालयले डिएसपी बढुवामा हस्तक्षेप गर्ने प्रबल सम्भावना पनि छ ।
विश्वस्त स्रोतका अनुसार डिएसपी बढुवा सम्भवतः आगामी फागुन २१ गते हुने निर्वाचनपछि मात्र टुंगो लाग्नेछ । तर, संगठनमा लामो समयदेखि रिक्त रहेको पद पूर्ति गर्न आईजीपी कार्की सक्रिय रूपमा प्रयासरत छन्। निर्वाचनअघि नै बढुवा प्रक्रिया अघि बढ्न सक्ने सम्भावना पनि पूर्ण रूपमा नटारिएको स्रोत बताउँछ।
